भारतमा रेबिजको नक्कली खोप बरामद, ४ जना पक्राउ: नेपालमा पनि सतर्कता आवश्यक

काठमाडौं।भारतको केन्द्रीय औषधि नियामक निकाय (CDSCO) ले ‘Abhayrab’ ब्रान्डको रेबिज विरुद्धको खोपको एक विशेष ब्याचलाई नक्कली र कम गुणस्तरको घोषणा गरेको छ। दिल्लीको एक अनधिकृत स्थानबाट बरामद गरिएको KE25012 ब्याच नम्बरको खोप सरकारी प्रयोगशालाको प्रभावकारिता परीक्षण (Potency Test) मा असफल भएपछि यो कदम चालिएको हो।

वास्तविक उत्पादक कम्पनी ‘इन्डियन इम्युनोलोजिकल्स लिमिटेड’ (IIL) ले यो ब्याच आफूले उत्पादन नगरेको प्रष्ट पारेको छ। कम्पनीका अनुसार बरामद गरिएको नक्कली खोपको लेबल, कभरको रङ, प्याकेजिङ र QR कोडमा वास्तविक खोपभन्दा १७ वटा भिन्नताहरू भेटिएका छन्।

यस अवैध धन्दामा संलग्न रहेको आरोपमा दिल्ली पुलिसले ४ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। भारत सरकारले सबै राज्यहरूलाई उक्त ब्याचको वितरणमा कडा निगरानी राख्न निर्देशन दिएको छ।भारतीय नियामक निकायका अनुसार यो नक्कली ब्याच आधिकारिक रूपमा भारत बाहिर निर्यात भएको छैन।

नेपालमा औषधि व्यवस्था विभाग (DDA) ले यस विषयमा हालसम्म कुनै औपचारिक सूचना जारी नगरेको भए तापनि खुला सिमानाका कारण अनधिकृत रूपमा यस्ता औषधि भित्रिन सक्ने जोखिम भने सधैं रहन्छ।नेपालमा सरकारी च्यानलबाट आयात गरिएका रेबिज खोपहरू सुरक्षित रहेको बताइए तापनि, उपभोक्ता र स्वास्थ्यकर्मीहरूलाई खोप खरिद वा प्रयोग गर्दा ब्याच नम्बर KE25012 भए/नभएको जाँच गर्न र सधैं दर्तावाल अस्पताल वा आधिकारिक फार्मेसीबाट मात्र सेवा लिन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!