रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

काठमाडौँ, २१ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजा लगायत पानीजन्य रोगको जोखिम बढेपछि सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्‍याइएको हो।

बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री तथा आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले निर्देशन दिएकी छन्।

मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउनुका साथै रोगको सूक्ष्म निगरानी, सुरक्षित खानेपानी, सरसफाइ तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बाढीका कारण खानेपानीका मुख्य मुहान तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेकाले रसुवाका प्रभावित क्षेत्रमा हैजा लगायत अन्य सरुवा रोगको जोखिम उच्च रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!