काठमाडौं / रत्न काजि प्रजापति।
रसुवा–भोटेकोशी, नुवाकोट, धादिङ तथा त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कर्मा ग्रुप अफ कम्पनीजले २१ लाख ११ हजार १ सय १० रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित विस्थापित परिवार र पीडित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ। कर्मा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग रकम उपलब्ध गराएको हो।
कम्पनीले विपद्को कठिन अवस्थामा पीडित दाजुभाइ तथा दिदीबहिनीको तत्काल उद्धार र राहत कार्यमा ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको जनाएको छ। साथै, प्रभावित परिवारको शीघ्र पुनर्लाभका लागि पुनर्निर्माण तथा मानवीय सहयोगका कार्यमा समेत प्रतिबद्ध रहेको कर्मा ग्रुपले जनाएको छ।