काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
बुधबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले १० करोड रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्। यसअघि नेपाल टेलिकमका कर्मचारीका तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ राहत कोषमा हस्तान्तरण भइसकेको कम्पनीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमले सेवाग्राहीलाई ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा समेत उपलब्ध गराएको जनाएको छ। कम्पनी र कर्मचारीको प्रत्यक्ष आर्थिक सहयोग तथा निःशुल्क दूरसञ्चार सुविधासमेत जोड्दा बाढीपछि नेपाल टेलिकमबाट करिब १८ करोड २ लाख रुपैयाँ बराबरको सहयोग तथा सुविधा उपलब्ध भएको देखिन्छ। कम्पनीले विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्दै राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।