पुरानो औषधि ऐनदेखि क्लिनिकल फार्मेसीसम्म : ‘फार्मेसी क्षेत्र अब सुधार होइन, पुनर्संरचना चाहन्छ’

काठमाडौं / रत्न काजि प्रजापति । नेपालमा औषधि क्षेत्रको विकाससँगै त्यसलाई नियमन गर्ने कानुनी संरचना र स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबीच ठूलो अन्तर देखिएको भन्दै नीतिगत पुनर्संरचनाको बहस अघि बढेको छ। विश्व फार्मासिस्ट दिवस २०२६ को अवसरमा नेपाल फार्मेसी संघ (फान)ले आयोजना गरेको ‘एक्सपर्ट पोलिसी डायलग’ले औषधि क्षेत्रका पुराना कानुनदेखि अस्पताल र सामुदायिक फार्मेसीसम्म सुधारको आवश्यकता औंल्याएको हो।

विशेषज्ञहरूले औषधि ऐन, २०३५ लाई वर्तमान औषधि बजार, प्रविधि र स्वास्थ्य सेवाको बदलिँदो आवश्यकताअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्। मेडिकल डिभाइस, इन–भिट्रो डायग्नोस्टिक्स र न्युट्रास्युटिकल्सजस्ता क्षेत्रमा प्रभावकारी नियमनको आवश्यकता समेत कार्यक्रममा उठाइएको छ।

फार्मेसीलाई औषधि बिक्रीमा मात्र सीमित नराखी स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने धारणा पनि कार्यक्रममा प्रमुख रूपमा उठ्यो। सामुदायिक फार्मेसीमा ‘गुड फार्मेसी प्राक्टिस’ लागू गर्ने, स्वास्थ्य बीमा प्रणालीमा सामुदायिक फार्मेसीलाई जोड्ने तथा बिरामीको औषधि प्रयोगलाई सुरक्षित र प्रभावकारी बनाउने प्रणाली विकास गर्नुपर्नेमा विज्ञहरूको जोड थियो।

अस्पताल र क्लिनिकल सेवातर्फ भने क्लिनिकल फार्मासिस्टको भूमिका विस्तार तथा सार्वजनिक स्वास्थ्य संस्थामा थप दरबन्दी सिर्जना गर्नुपर्ने माग गरिएको छ। औषधिको सही छनोट, मात्रा, औषधिबीचको अन्तरक्रिया र बिरामीको उपचार परिणाममा फार्मासिस्टको भूमिकालाई संस्थागत गर्नुपर्ने विषय पनि छलफलमा आएको थियो।

औद्योगिक फार्मेसीतर्फ स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन गुणस्तर प्रणाली र जीएमपी कम्प्लायन्स बलियो बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। उत्पादन, गुणस्तर, अनुसन्धान र नियमनबीच समन्वय नभएसम्म स्वदेशी औषधि उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउन कठिन हुने धारणा राखिएको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय अभ्यासदेखि अस्पताल फार्मेसी, फार्मेसी शिक्षा, औद्योगिक उत्पादन तथा सामुदायिक फार्मेसीसम्मका विषयमा विशेषज्ञ प्रस्तुति भएका थिए। किङ्स कलेज लन्डनका प्राध्यापक डा. विभु पौड्यालले फार्मासिस्टद्वारा स्वतन्त्र रूपमा औषधि सिफारिस गर्ने अन्तर्राष्ट्रिय अभ्यासबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा सांसदहरू रञ्जु दर्शना, डा. तोसिमा कार्की, डा. लेखजङ्ग थापा र गुरु बरालसहित फार्मेसी क्षेत्रका विभिन्न विज्ञ तथा सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा उठेका विषयले नेपालको फार्मेसी क्षेत्रलाई औषधि वितरणको परम्परागत भूमिकाबाट बिरामीकेन्द्रित स्वास्थ्य सेवातर्फ लैजान कानुन, शिक्षा, उद्योग र सेवा प्रणालीमा एकसाथ सुधार आवश्यक रहेको देखाएको छ।

उक्त कार्यक्रमको संयोजन कान्तिपुर फर्मास्युटिकल ल्याब पब्लिक लिमिटेडका सिनियर कन्सल्टेन्ट फार्मासिस्ट तथा हेड अफ अपरेसन (टेक्निकल) विवेकसिंह महतले गरेका थिए।

PC: Bibek Mahat

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!