काठमाडौं । नेपाल सरकारले पशु कल्याणको विषयलाई सरकारी संरचनामै प्राथमिकताका साथ समेट्दै साविकको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयलाई पुनर्संरचना गरेको छ।
पुनर्संरचनापछि कार्यालयको नाम ‘राष्ट्रिय पशु कल्याण तथा स्रोत व्यवस्थापन कार्यालय’ कायम गरिएको छ। नयाँ संरचनामा पशु कल्याणसम्बन्धी विषय हेर्न छुट्टै शाखा समेत स्थापना गरिएको छ।
नेपालमा पहिलोपटक पशु कल्याणका लागि छुट्टै शाखासहितको संस्थागत संरचना तयार गरिएको हो। यससँगै पशुपन्छीको संरक्षण, मानवीय व्यवहार र कल्याणसँग सम्बन्धित विषयलाई सरकारी संयन्त्रबाटै व्यवस्थित रूपमा अघि बढाउने आधार बनेको छ।
नयाँ शाखाले पशुपन्छीको पालन, ढुवानी, उपचार, बधलगायतका क्रममा अपनाउनुपर्ने पशु कल्याणसम्बन्धी मापदण्ड, नीति तथा कार्यक्रम कार्यान्वयनमा समन्वय गर्ने अपेक्षा गरिएको छ।
विशेषगरी पशुलाई अनावश्यक पीडा र तनावबाट जोगाउने, मानवीय व्यवहार सुनिश्चित गर्ने तथा पशु कल्याणसम्बन्धी जनचेतना र प्राविधिक क्षमता अभिवृद्धिमा शाखाको भूमिका महत्वपूर्ण हुने देखिन्छ।
यस पुनर्संरचनाले नेपालमा पशु कल्याणलाई अधिकार, स्वास्थ्य र उत्पादन प्रणालीसँग जोडेर सरकारी प्राथमिकतामा लैजाने नयाँ संरचनाको सुरुवात गरेको छ। यसको प्रभावकारिता भने आवश्यक जनशक्ति, बजेट, स्पष्ट कार्यविभाजन र प्रभावकारी अनुगमनमा निर्भर रहनेछ।