चितवन । अण्डाको पोषण, स्वास्थ्य र मानव जीवनमा यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विश्व अण्डा दिवस २०२६ आगामी अक्टोबर ९ अर्थात् २०८३ असोज २३ गते शुक्रबार विश्वभर मनाइँदैछ।
यस वर्षको विश्व अण्डा दिवस विशेष छ। सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको यो दिवसले ३० वर्ष पूरा गर्दैछ। ३०औँ वार्षिकोत्सवका अवसरमा अण्डाबाट प्राप्त हुने उच्च गुणस्तरको प्रोटिनले मानव स्वास्थ्यमा पुर्याउने योगदानलाई विशेष रूपमा उजागर गरिँदैछ।
यस वर्षको मुख्य नारा “Protein that Powers and Protects” अर्थात् ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ। नाराले अण्डामा पाइने गुणस्तरीय प्रोटिनले शरीरलाई आवश्यक शक्ति प्रदान गर्नुका साथै समग्र स्वास्थ्य र प्रतिरक्षा प्रणालीमा पुर्याउने योगदानलाई जोड दिएको छ।
अण्डा शरीरका लागि आवश्यक उच्च गुणस्तरको प्रोटिन, भिटामिन तथा विभिन्न पोषक तत्वको महत्वपूर्ण स्रोत मानिन्छ। बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, वृद्धवृद्धा तथा शारीरिक रूपमा सक्रिय व्यक्तिका लागि सन्तुलित आहारमा अण्डाको महत्वबारे जनचेतना फैलाउने दिवसको मुख्य उद्देश्य हो।
विश्व अण्डा दिवसका अवसरमा विद्यालय तथा समुदायस्तरीय कार्यक्रम, अण्डाबाट बन्ने परिकार प्रतियोगिता, पोषणसम्बन्धी अन्तरक्रिया, जनचेतनामूलक अभियान तथा विविध कार्यक्रम आयोजना हुँदै आएका छन्। यस्ता कार्यक्रममार्फत अण्डालाई सुलभ, पौष्टिक र दैनिक आहारको महत्वपूर्ण हिस्सा बनाउन प्रोत्साहन गरिन्छ।
नेपालमा नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी विश्व अण्डा दिवस २०२६ चितवनमा भव्य र सभ्य रूपमा मनाउने तयारी गरेको छ। अण्डा उत्पादक किसान, व्यवसायी, पशु चिकित्सक, पोषणविद्, सरकारी निकाय तथा सरोकारवालाको सहभागितामा कार्यक्रम गर्ने तयारी भइरहेको संघले जनाएको छ।
कार्यक्रममार्फत अण्डाको पोषण महत्वसँगै नेपाली कुखुरापालन तथा अण्डा उत्पादन क्षेत्रको योगदान, किसानका समस्या र सम्भावनाबारे समेत बहस तथा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
संघका अनुसार विश्व अण्डा दिवसलाई केवल एकदिने औपचारिक कार्यक्रमका रूपमा नभई अण्डाको पोषण, किसानको योगदान र देशको खाद्य तथा पोषण सुरक्षासँग जोडेर व्यापक जनचेतना फैलाउने अवसरका रूपमा मनाउने तयारी गरिएको छ।