भक्तपुर । विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले ३३ जना सांस्कृतिक गुरु, उत्कृष्ट कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक क्षेत्रका सहयोगीलाई सम्मान गरेको छ।
आइतबार आयोजित कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले सांस्कृतिक गुरुहरूलाई जनही २० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरे। घिन्ताङघिसी, माक प्याखँ तथा आधुनिक र परम्परागत विधाका उत्कृष्ट कलाकारलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरको कला, संस्कृति र अमूर्त सम्पदा संरक्षणमा सांस्कृतिक गुरुहरूको योगदान महत्वपूर्ण रहेको बताए। नगर प्रमुख सुनिल प्रजापतिले पुस्तौंदेखि चलिआएको मौलिक संस्कृति संरक्षण र पुस्तान्तरणमा समुदायको भूमिका उल्लेखनीय रहेको बताए।
सोही अवसरमा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘चिनियाँ मित्रहरू भक्तपुरमा’ नामक पुस्तक सार्वजनिक गरिएको थियो। कार्यक्रममा पर्यटनसम्बद्ध संघसंस्था, व्यवसायी तथा सहयोगीलाई कदरपत्र प्रदान गर्नुका साथै विभिन्न सांस्कृतिक समूहले परम्परागत कला प्रस्तुत गरेका थिए।
