‘स्ट्रङ्गर टुगेदर’ नारासहित विश्व रेबिज दिवसः २०३० सम्म मृत्यु शून्य बनाउने लक्ष्य

काठमाडौं। ‘स्ट्रङ्गर टुगेदर’ अर्थात् ‘सबै मिलेर अझ बलियो’ नारासहित नेपालमा आज विश्व रेबिज दिवस २०२६ मनाइँदैछ। मानव, पशु र वातावरणीय स्वास्थ्यलाई एकीकृत गर्दै रेबिज नियन्त्रणका लागि ‘वन हेल्थ’ अवधारणामा जोड दिइएको छ।

रेबिज अझै नेपालका लागि महत्वपूर्ण जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ। रेबिजका लक्षण देखिएपछि रोग प्रायः घातक हुन्छ। तर जनावरको टोकाइपछि समयमै घाउको उचित उपचार र आवश्यक खोप लगाएमा रेबिजबाट हुने मृत्यु रोक्न सकिन्छ।

विश्व स्वास्थ्य समुदायले सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने ‘जिरो बाइ ३०’ लक्ष्य अघि सारेको छ। नेपालले पनि यो लक्ष्य हासिल गर्न कुकुरमा रेबिजविरुद्धको खोप, जनचेतना विस्तार र संक्रमित जनावरको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

समुदायमा रेबिज नियन्त्रणका लागि कम्तीमा ७० प्रतिशत कुकुरलाई खोप लगाउने, टोकाइबाट बच्ने उपायबारे जनचेतना फैलाउने तथा जोखिममा परेकालाई समयमै एन्टिरेबिज भ्याक्सिन र आवश्यक इम्युनोग्लोबुलिन उपलब्ध गराउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई तुरुन्त कम्तीमा १५ मिनेट साबुनपानीले राम्ररी धुनुपर्छ। त्यसपछि एन्टिसेप्टिक प्रयोग गरी ढिला नगरी स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको सल्लाहअनुसार रेबिजविरुद्धको खोप तथा आवश्यक उपचार लिनुपर्छ।

स्वास्थ्यकर्मीहरूले टोकाइपछि धामीझाँक्री वा घरेलु उपचारमा भर नपरी तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गरेका छन्। रेबिज नियन्त्रणका लागि स्वास्थ्यकर्मी, पशु चिकित्सक, स्थानीय तह, समुदाय र आम नागरिकबीचको सहकार्य आवश्यक रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!