मासु जाँच ऐन कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउन मन्त्री चौधरीको निर्देशन

काठमाडौं । पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनका लागि कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्दै आवश्यक पूर्वतयारी तीव्र बनाउन निर्देशन दिनुभएको छ।

स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा मन्त्री चौधरीले उपभोक्तालाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय मासु उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउन सबै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले साना तथा परम्परागत मासु व्यवसायीको संरक्षण गर्दै उनीहरूको व्यवसायलाई क्रमशः आधुनिक, व्यवस्थित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो।

मासु उत्पादन, बध तथा बिक्री वितरणका क्रममा स्वच्छता र गुणस्तर कायम गर्न आवश्यक पूर्वाधार, जनशक्ति तथा नियमन प्रणालीलाई समेत प्रभावकारी बनाउनुपर्ने मन्त्री चौधरीको भनाइ थियो।

उपभोक्ताको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको मासु बजारलाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत पहल अघि बढाउने उहाँले बताउनुभयो। मन्त्रालय स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपलब्ध गराउने अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मन्त्री चौधरीले स्पष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!