ललितपुर । नेपालमा उत्पादनदेखि उपभोगसम्म हुने खाद्य नोक्सानी तथा खाद्यवस्तु खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि सरोकारवालासँग निरन्तर संवाद गर्दै राष्ट्रिय कार्ययोजना (Action Plan) तयार गरिने भएको छ।
अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्यवस्तु सचेतना दिवस (IDAFLW) २०२६ का अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि सञ्चार तथा मानव स्रोत विकास केन्द्र (CACHRD) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) नेपालको संयुक्त आयोजनामा मंगलबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रमले खाद्य नोक्सानी न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय पहलको आवश्यकता औंल्याएको हो।

यस वर्षको दिवसको मूल विषय ‘Transformative Potential of Reducing Food Loss and Waste’ अर्थात् ‘खाद्य नोक्सानी तथा खेर जाने खाद्यवस्तु न्यूनीकरणको रूपान्तरणकारी सम्भावना’ रहेको छ। कार्यक्रममा खाद्य नोक्सानी र खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, किसानको आम्दानी, वातावरण संरक्षण र जलवायु सहनशीलतासँग जोडेर हेर्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममा Mandala Agrifresh Pvt. Ltd. का सुदीप बज्राचार्यले ‘The Transformative Potential of Reducing Food Loss and Waste: From Global Challenge to Action in Nepal’ विषयमा मुख्य प्रस्तुति दिएका थिए। उनले विश्वव्यापी चुनौतीका रूपमा रहेको Food Loss and Waste लाई नेपालमा व्यावहारिक तहको कार्यमा रूपान्तरण गर्न प्रविधि, लगानी, पूर्वाधार र व्यवहार परिवर्तनलाई एकसाथ अघि बढाउनुपर्ने धारणा राखे।

त्यस्तै, CACHRD की प्रमुख सबनम शिवाकोटीले नेपालमा Food Loss and Waste को अवस्था, कटानीपछिको नोक्सानीसम्बन्धी तथ्यांक, सरकारले अघि बढाइरहेका पहल, विद्यमान कमी–कमजोरी तथा सम्भावित हस्तक्षेप र सहकार्यका विषयमा सरकारी दृष्टिकोण प्रस्तुत गरिन्। उनले खाद्य मूल्य शृंखलाका विभिन्न चरणमा रहेका चुनौती पहिचान गरी सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताइन्।
कार्यक्रममा नेपालमा विशेषगरी फलफूल तथा तरकारीजस्ता नाशवान कृषि उपजमा २० देखि ५० प्रतिशतसम्म नोक्सानी हुने गरेको तथ्य प्रस्तुत गरिएको थियो। अपर्याप्त कोल्ड चेन, कमजोर सडक तथा ढुवानी प्रणाली, अवैज्ञानिक प्याकेजिङ र भण्डारणलगायतका कारण उत्पादनदेखि बजारसम्म खाद्यवस्तु नोक्सान भइरहेको बताइएको छ।
घरायसी तहमा पनि खाद्यवस्तु खेर जाने अवस्था चुनौतीपूर्ण रहेको कार्यक्रममा प्रस्तुत तथ्यांकले देखाएको छ। नेपालमा प्रतिव्यक्ति वार्षिक औसत ९३ किलो खाद्यवस्तु खेर जाने अनुमान गरिएको छ। नगरपालिकाको घरायसी फोहोरमध्ये करिब ६५ प्रतिशत जैविक फोहोर रहेको र काठमाडौंमा कुल फोहोरको करिब ६६ प्रतिशत खाद्य फोहोर रहेको उल्लेख गरिएको छ।
कार्यक्रममा सरकार, निजी क्षेत्र, कृषि तथा खाद्य उद्योग, अनुसन्धान तथा शैक्षिक संस्था, नागरिक समाज, उत्पादक संगठन, युवा उद्यमी तथा विकास साझेदार गरी करिब ६० जना सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूबीच खाद्य मूल्य शृंखलाका विभिन्न चरणमा हुने Food Loss and Waste Hotspots पहिचान गर्दै सम्भावित समाधानबारे छलफल गरिएको थियो।
उत्पादन, कटानीपछिको व्यवस्थापन, ढुवानी, भण्डारण, खुद्रा बजार तथा उपभोगका चरणमा हुने नोक्सानी घटाउन प्रविधिको प्रयोग, पूर्वाधार विकास, लगानी विस्तार, नीति सुधार र उपभोक्ताको व्यवहार परिवर्तनमा जोड दिइएको थियो।
कार्यक्रमले तत्कालै अन्तिम ‘Action Plan’ घोषणा भने गरेको छैन। कार्यक्रमबाट प्राप्त सुझाव, छलफल र सरोकारवालाको अनुभवलाई समेट्दै सम्बन्धित पक्षसँग निरन्तर संवाद र सहकार्य गरी खाद्य नोक्सानी न्यूनीकरणको छोटो, मध्यम तथा दीर्घकालीन कार्ययोजना तयार गर्ने प्रक्रिया अघि बढाइने आयोजकले जनाएको छ।
जलवायु परिवर्तनका कारण बाढी, पहिरो, खडेरी र बेमौसमी वर्षालगायतका विपद्ले कृषि उत्पादनमा असर पारिरहेका बेला उत्पादन भइसकेको खाद्यवस्तु खेर जानबाट रोक्नु पनि खाद्य सुरक्षा सुदृढ गर्ने महत्वपूर्ण उपाय भएको कार्यक्रममा जोड दिइयो। एक किलो खाना नोक्सान हुँदा त्यससँग जोडिएको पानी, जमिन, ऊर्जा, श्रम र लगानी मात्र नभई त्यसबाट सिर्जना हुने वातावरणीय प्रभावसमेत खेर जाने भएकाले ‘खाना जोगाऔँ, स्रोत बचाऔँ’ भन्ने सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा सहभागीहरूले जोड दिए।
कार्यक्रमको मुख्य सन्देश ‘Food loss is nutrition loss. Keep it fresh, transform the rest.’ रहेको थियो। आयोजकका अनुसार अबको चरणमा सरोकारवालासँग निरन्तर संवादमार्फत प्राथमिक क्षेत्र पहिचान गरी त्यसका आधारमा नेपालका लागि व्यवहारिक र कार्यान्वयनयोग्य Food Loss and Waste Action Plan निर्माणतर्फ अघि बढिनेछ।
PC: FAO Nepal