खाद्य नोक्सानी र खेर जाने प्रवृत्ति घटाउन राष्ट्रिय पहलमा जोड

ललितपुर । खाद्य सुरक्षा, किसानको आम्दानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोडिएको खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि नेपालमा एकीकृत राष्ट्रिय पहल आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्यवस्तु सचेतना दिवस (IDAFLW) २०२६ को अवसरमा कृषि सञ्चार तथा मानव स्रोत विकास केन्द्र (CACHRD) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) नेपालको सहकार्यमा ललितपुरमा आयोजित कार्यक्रममा सरकार, विकास साझेदार, निजी क्षेत्र, अनुसन्धान संस्था तथा नागरिक समाजका प्रतिनिधिले तथ्यमा आधारित नीति, लगानी र कार्यान्वयनमा जोड दिएका हुन्।

कार्यक्रममा केन्द्रकी प्रमुख सबनम शिवाकोटीले उत्पादनदेखि उपभोगसम्मको प्रक्रियामा हुने खाद्य नोक्सानीले किसान, उपभोक्ता, व्यवसायी र समग्र अर्थतन्त्रमा असर पारिरहेको बताइन्। नीति तथा कार्यक्रम भए पनि कमजोर कार्यान्वयन, सीमित अनुसन्धान र पर्याप्त लगानीको अभावमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको भनाइ थियो।

कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार विश्वमा उत्पादित खाद्यवस्तुको करिब १३ प्रतिशत खुद्रा बजारमा पुग्नुअघि नै नोक्सान हुने गरेको छ भने उपभोक्तासम्म पुगेको खाद्यवस्तुमध्ये थप १९ प्रतिशत खुद्रा व्यापार, खाद्य सेवा र घरायसी तहमा खेर जाने गरेको छ। नेपालमा प्रतिव्यक्ति वार्षिक करिब ९३ किलो खाद्यवस्तु खेर जाने अनुमान प्रस्तुत गरिएको थियो।

मण्डला एग्रीफार्म प्रा. लि.का सुदीप बज्राचार्यले खाद्य नोक्सानी कृषि क्षेत्रको मात्र नभई आर्थिक, सामाजिक र वातावरणीय मुद्दा भएको बताए। उत्पादन बढाउनुभन्दा पहिले उत्पादन भइसकेका उपजको नोक्सानी रोक्नु आवश्यक रहेको भन्दै उनले संकलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण र बजार व्यवस्थापन सुधारमा जोड दिए।

एफएओका सहायक प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरुण जिसीले खाद्य नोक्सानीलाई खाद्य सुरक्षा, पोषण, स्रोतको दक्षता र जलवायु सहनशीलतासँग जोडेर हेर्नुपर्ने बताए। कुन बालीमा, मूल्य शृङ्खलाको कुन चरणमा र किन नोक्सानी भइरहेको छ भन्ने पहिचानका लागि तथ्यांक प्रणाली आवश्यक रहेको उनको भनाइ थियो।

छलफलमा फलफूल, तरकारी, माछा, मासु तथा दुग्धजन्य वस्तुमा तुलनात्मक रूपमा बढी नोक्सानी हुने विषय उठाइएको थियो। अपर्याप्त कोल्ड चेन, कमजोर भण्डारण तथा ढुवानी पूर्वाधार, असुरक्षित प्याकेजिङ र मूल्य अभिवृद्धि सुविधाको कमीले खाद्य नोक्सानी बढाइरहेको सहभागीहरूले बताएका छन्।

सरोकारवालाले खाद्य नोक्सानी र खेर जाने प्रवृत्ति घटाउन उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण मूल्य शृङ्खला समेट्ने राष्ट्रिय कार्ययोजना, तथ्यमा आधारित नीति, पूर्वाधारमा लगानी र सरोकारवालाबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!