काठमाडौं/ रत्न काजि प्रजापति । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा गुणस्तर परीक्षण गर्दा मापदण्ड पूरा नगरेका दुई प्रकारका क्याल्सियम तथा भिटामिन डी औषधि तत्काल बजारबाट फिर्ता (Recall) गर्न निर्देशन दिएको छ।
विभागले WINCAL (Calcium and Vitamin D3 Tablets IP) र CALCIGEN-F (Calcium and Cholecalciferol Tablets IP) का सम्बन्धित ब्याच न्यून गुणस्तरको पाइएको भन्दै बिक्री–वितरण रोक्न र बजारबाट फिर्ता गर्न सूचना जारी गरेको हो।
विभागका अनुसार WINCAL को ब्याच नं. 042.035 रहेको छ। उक्त औषधिको उत्पादन Pharmonics Life Sciences Pvt. Ltd., सुनसरीले गरेको हो। यसको उत्पादन मिति जनवरी २०२६ र म्याद सकिने मिति अगस्ट २०२७ रहेको छ।
प्रयोगशाला परीक्षणका क्रममा WINCAL मा रहेको Vitamin D3 को assay औषधि मापदण्ड IP 2026 अनुरूप नभएको विभागले जनाएको छ। त्यसैगरी CALCIGEN-F को ब्याच नं. CVD3-306 रहेको छ। यसको उत्पादन Nova Genetica Pvt. Ltd., खानीखोला–७, नौबिसे, धादिङले गरेको हो। यसको उत्पादन मिति जुलाई २०२५ र म्याद सकिने मिति जुन २०२७ रहेको छ।
CALCIGEN-F को हकमा पनि Vitamin D3 को assay IP 2026 बमोजिम नभएको परीक्षणबाट देखिएको विभागको सूचनामा उल्लेख छ। बजार अनुगमनका क्रममा संकलन गरिएका नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त समस्या देखिएपछि विभागले सम्बन्धित उत्पादन फिर्ता गर्न निर्देशन दिएको हो।
विभागले ती ब्याचका औषधिको बिक्री–वितरण तथा प्रयोग नगर्न, साथै बजारमा रहेका औषधि तत्काल फिर्ता गरी त्यसको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिहरूलाई जानकारी गराएको छ। औषधिको गुणस्तर सुनिश्चित गर्न बजार अनुगमन र प्रयोगशाला परीक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता यस घटनाले समेत देखाएको छ।
