मध्यपुर थिमि। मध्यपुर थिमिका सांस्कृतिक धरोहर एवं विभिन्न वाद्यवादन तथा परम्परागत नृत्यका गुरु श्रीगोपाल प्रजापतिको निधनप्रति मध्यपुर थिमि नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।
दिवंगत प्रजापतिको निवासमा पुगेर नगर प्रमुख सुरेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले परिवारजनप्रति समवेदना प्रकट गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको हो।
शोक समवेदना व्यक्त गर्न नगर प्रमुख श्रेष्ठसँगै नगर उपप्रमुख विजय श्रेष्ठ लगायत नगरपालिकाका प्रतिनिधिहरू प्रजापति निवास पुगेका थिए। टोलीले प्रजापतिको निधनले मध्यपुर थिमिको मौलिक कला, संस्कृति, परम्परागत वाद्यवादन तथा नृत्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।
स्थानीय मौलिक संस्कृति र परम्परागत कला संरक्षण तथा पुस्तान्तरणमा प्रजापतिले पुर्याएको योगदानको स्मरण गर्दै नगरपालिकाले उनको योगदान सधैँ स्मरणीय रहने जनाएको छ।
नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।