९३ वर्षमा पनि उस्तै जोश: मञ्चमा रत्न बेहोसीको मधुर स्वर

भक्तपुर । उमेर ९३ वर्ष पुगिसक्दा पनि स्वरमा उस्तै मिठास, प्रस्तुतीमा उस्तै ऊर्जा र संगीतप्रतिको उस्तै लगाव। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा भक्तपुरको लिबालीस्थित आदर्श निकेतनमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ गायक रत्न बेहोसी बज्राचार्यले दिएको सांगीतिक प्रस्तुतिले सहभागीलाई मन्त्रमुग्ध बनाएको छ।

रोटरी क्लब अफ भक्तपुरको आयोजनामा भएको कार्यक्रममा बज्राचार्यले गीत, भजन तथा लोकसंगीत प्रस्तुत गर्दै ज्येष्ठ नागरिक दिवसलाई थप विशेष बनाएका थिए। उमेरले शरीरलाई थकाए पनि मनको उत्साह र सिर्जनात्मकतालाई रोक्न नसक्ने उदाहरण उनका प्रस्तुतिमा देखिन्थ्यो।

मञ्चमा गीत गाउँदै गर्दा ९३ वर्षीय बज्राचार्यको ऊर्जा र उत्साहले उपस्थित सबैको ध्यान तानेको थियो। उनको सांगीतिक प्रस्तुतिमा सहभागी ज्येष्ठ नागरिकदेखि अन्य उपस्थितसम्मले साथ दिएका थिए। लामो समयदेखि नेपाली संगीत तथा सांस्कृतिक क्षेत्रमा सक्रिय बज्राचार्यले आफ्नो प्रस्तुतीमार्फत संगीतप्रतिको प्रेम र जीवनप्रतिको उत्साह उमेरसँग सीमित नहुने सन्देश दिएका थिए।

कार्यक्रममा सहभागीहरूले बज्राचार्यको प्रस्तुतीलाई ज्येष्ठ नागरिक दिवसको सबैभन्दा स्मरणीय क्षणका रूपमा लिएका थिए। उनको प्रस्तुतीले ज्येष्ठ नागरिकलाई केवल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा मात्र नभई अनुभव, प्रतिभा र सिर्जनात्मक क्षमताले समाजलाई निरन्तर योगदान दिन सक्ने पुस्ताका रूपमा हेर्नुपर्ने सन्देशसमेत दिएको थियो।

कार्यक्रममा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष रोटेरियन दशरथ प्रजापति, आदर्श निकेतनका अध्यक्ष लक्ष्मीप्रसाद कुसि, रोटरी क्लबका पूर्वअध्यक्षहरू श्यामसुन्दर धौबडेल, राधेश्याम सुवाल, उदयराम श्रेष्ठ, बिनिता हाडा प्रधानाङ्गलगायतको सहभागिता थियो। कार्यक्रममा ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको सम्मान गर्दै उनीहरूसँग खुसीका क्षण साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष रोटेरियन दशरथ प्रजापतिले बताए।

उमेरलाई आफ्नो सक्रियताको सीमा नबनाएका बज्राचार्यले मञ्चबाट दिएको प्रस्तुतिले एउटा सरल सन्देश छाड्यो—जीवनको उमेर बढ्दै जाँदा उत्साह र प्रतिभा घट्नैपर्छ भन्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!