कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय समिति २९७ सदस्यीय हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलामञ्चमा जारी बन्द सत्रले पार्टीको संशोधित विधान पारित गरेको छ। महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको विधान बन्द सत्रले पारित गरेको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार नयाँ व्यवस्थाअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार र महामन्त्री तीन जना रहनेछन्। चार उपसभापतिमध्ये एक तथा तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य गरिएको छ।

त्यस्तै १५ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट चयन हुनेछन्। विधानमा प्रवक्ता र सहप्रवक्ताको समेत व्यवस्था गरिएको छ।

केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५, खुला महिलाबाट १५ तथा सातै प्रदेशबाट एक महिलासहित चार–चार जना निर्वाचित हुनेछन्। काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ।

समावेशीतर्फ दलितबाट १४, आदिवासी जनजातिबाट २०, खस आर्यबाट १८, मधेसीबाट १३, थारूबाट ६ र पिछडिएको वर्गबाट तीन जना केन्द्रीय सदस्य रहनेछन्। यस्तै जनसम्पर्क समितिबाट सात, श्रमिकबाट तीन र पेशागत विज्ञबाट सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य रहनेछन्। अपाङ्गता भएका व्यक्तिबाट एक तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनित गर्नेछ।

संशोधित विधान सोमबार नै पारित गरिएको हो। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने भोलि बस्ने बन्द सत्रले पारित गर्नेछ। भोलि बिहान १० बजेदेखि उम्मेदवारी मनोनयनको कार्यक्रम तय भएकाले विधान आजै पारित गरिएको कांग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!