एलडीसी स्तरोन्नतिपछि चुनौती सामना गर्न अहिलेबाटै स्पष्ट र समयबद्ध तयारी आवश्यकः महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौं/ रत्न काजि प्रजापति । नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि उत्पन्न हुन सक्ने चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘अतिकम विकसित मुलुकबाट स्तरोन्नति सचेतना कार्यशाला’मा सहभागी उद्योगी–व्यवसायी तथा सरोकारवालाले स्तरोन्नतिको संक्रमणकालका लागि तत्काल तयारी अघि बढाउनुपर्ने बताएका हुन्।

कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारको आग्रहपछि एलडीसीबाट स्तरोन्नतिको समय केही पर सर्न सक्ने भए पनि त्यसपछि व्यापारिक तथा अन्य सुविधा क्रमशः परिवर्तन हुने भएकाले नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन अहिलेबाटै स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य योजना आवश्यक रहेको बताउनुभयो।

यसअघि प्राप्त तयारी अवधिको अपेक्षित उपयोग हुन नसकेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अब उपलब्ध हुने थप समयलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। स्तरोन्नतिपछि सुविधा क्रमशः हट्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि उत्पादन लागत, गुणस्तर र दक्षता प्रमुख आधार बन्ने उहाँको भनाइ थियो।

उहाँले सरकारले उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने र दक्षता बढाउने क्षेत्रमा तत्काल सुधार गर्नुपर्ने बताउँदै निजी क्षेत्रले पनि सुविधा आधारित प्रतिस्पर्धाबाट क्षमता आधारित प्रतिस्पर्धातर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो। त्यसका लागि प्रविधि, उत्पादनको गुणस्तर, मूल्य शृंखला र बजार विविधीकरणमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठले एलडीसी स्तरोन्नतिको प्रभाव प्रदेश तथा स्थानीय तहमा रहेका उद्योग–व्यवसायसम्म पुग्ने भएकाले निजी क्षेत्रलाई समयमै सचेत र तयार बनाउनुपर्ने बताउनुभयो। सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाएर स्तरोन्नतिलाई चुनौतीसँगै नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यशालामा परियोजनाका परामर्शदाता भोजराज पोखरेलले स्तरोन्नतिपछि नेपालले प्राप्त गर्ने अवसर तथा सामना गर्नुपर्ने चुनौतीबारे प्रस्तुति दिनुभएको थियो। उहाँले उत्पादन क्षमता, गुणस्तर, बजार विविधीकरण तथा निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउँदै संक्रमणकालीन तयारी योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

परियोजना प्रमुख रोशन नेपालले समावेशी तथा प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण, एसएमईको क्षमता अभिवृद्धि र बजार पहुँच विस्तारमा परियोजनाले काम गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार एलडीसी स्तरोन्नतिपछि पर्न सक्ने प्रभावबारे क्षेत्रगत तथा बजारगत अध्ययनसमेत भइरहेको छ।

महासंघले एलडीसी स्तरोन्नतिको विषयमा प्रदेशस्तरबाटै सचेतना तथा छलफल अघि बढाउँदै आएको छ। विराटनगर, वीरेन्द्रनगर र धनगढीपछि काठमाडौंमा आयोजित कार्यशाला यस शृंखलाको चौथो कार्यक्रम हो। महासंघले आगामी दिनमा भक्तपुर र ललितपुरमा समेत यस्ता कार्यक्रम आयोजना गर्ने जनाएको छ। कार्यक्रममा उद्योगी, व्यवसायी, एसएमई, विकास साझेदार तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!