भारतबाट नेपाललाई उखुका चार उन्नत जात हस्तान्तरण

काठमाडौं, असोज २६ । भारत सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई उखुका चार उन्नत जात हस्तान्तरण गरेको छ। उखुको उत्पादकत्व बढाउने र किसानलाई लाभ पुर्‍याउने उद्देश्यले भारतले उन्नत जातका उखु नेपाललाई उपलब्ध गराएको हो।

काठमाडौंस्थित नार्कको केन्द्रीय कार्यालयमा असोज २६ गते आयोजित कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले परिषद्का कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठलाई उखुका जात हस्तान्तरण गर्नुभएको हो।

हस्तान्तरण गरिएका उखुका जातमा CoLk 16202, CoLk 16470, CoS 17231 र CoS 18231 रहेका छन्। यी जातको उत्पादन क्षमता प्रतिहेक्टर ८२.५ देखि ९३.२ मेट्रिक टनसम्म रहेको छ। त्यस्तै, सुक्रोजको मात्रा १७.४ देखि १८ प्रतिशतसम्म रहेको जनाइएको छ। चारवटै जात उखुमा लाग्ने रेड रट रोग प्रतिरोधी छन्।

नार्कका कार्यकारी निर्देशक डा. श्रेष्ठले यी उन्नत जातको प्रयोगबाट नेपालमा उखुको उत्पादकत्व बढाउन सहयोग पुग्ने बताउनुभयो। किसानसम्म नयाँ जात पुर्‍याउन परिषद्का अनुसन्धान केन्द्रहरूमा बहुस्थान परीक्षण गरिने उहाँले जानकारी दिनुभयो।

परीक्षण तथा प्रवर्द्धन प्रक्रिया अघि बढाएर आगामी तीन वर्षभित्र किसानका लागि पर्याप्त बीउ उपलब्ध गराउने अपेक्षा गरिएको छ।

उखुका उन्नत जातको विकास र विस्तारले किसानको उत्पादन तथा आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, उखुमा आधारित चिनी उद्योगलाई आवश्यक कच्चा पदार्थको उपलब्धता बढाउन र उद्योग सञ्चालनलाई थप सहज बनाउनसमेत यी जात उपयोगी हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!