अस्पतालको स्तर उन्नती बृद्धि गर्ने कार्यमा सदैव आफ्नो साथ र सहयोग रहने ः प्रतिनिधि सभा सदस्य दुर्लभ थापा
नगरभित्रको शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष ध्यान दिदैं कार्य गर्दै अधि बढ़ाईरहेका छौ ः नगर प्रमुख सुरेन्द्र श्रेष्ठ
अस्पतालमा विगतको तुलना धेरै परिवर्तन आईसकेको छः नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठ
मध्यपुर थिमि, बैशाख १५, २०८०ः
मध्यपुर थिमि नगरपालिकाद्वारा सन्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १५ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न भएको छ।
अस्पतालको बार्षिकोत्सवको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य दुर्लभ थापाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नगरस्तरीय अस्पताल भएता पनि यसले प्रदेशस्तरीय अस्पतालको रुपमा सेवा सुविधा प्रदान गर्दै आईरहेको भन्दै अस्पतालको स्तर उन्नती बृद्धि गर्ने कार्यमा सदैव आफ्नो साथ र सहयोग रहने बताउनुभयो । प्रतिनिधि सभा सदस्य थापाले जिल्लाभित्रका सबै राजनैतिक दलहरु एकजुट भई हातेमालो गर्दै जाने हो भने यो अस्पताल राष्ट्रियस्तरको अस्पताल बनाउन सकिने धारणा समेत राख्नु भएको थियो । अस्पताल अघि वढ्न व्यवस्थापन समितिलगायत यहाँका डाक्टर, चिकित्सक, नर्स तथा कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने भन्दै उहाँले आफ्नो प्रतिनिधि सभा सदस्यको कार्यकालमा अस्पताललाई पूर्ण साथ र सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले अस्पतालले विरामी जाँच्ने कार्य मात्र नभई नगरवासीहरुलाई रोग नै लाग्न नदिने किसिमको कार्यक्रम सञ्चालन गनुपर्ने भन्दै अस्पतालको स्तरबृद्धि तथा उन्नतीकालागि केकस्तो साथ र सहयोग चाहिने त्यसबारे विस्तृत खाका सहित प्रस्तुत गर्न अस्पताल प्रशासनलाई आग्रह समेत गर्नुभयो । उहाँले नगरपालिकाले अस्पताल मार्फत जेष्ठ नगरबासीहरुको नियमित स्वास्थ्य जाँचको लागि घरदैलो कार्यक्रम समेत सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले अस्पताललाई यहाँसम्म ल्याउन अस्पताल तथा नगरपालिकाका पूर्व जनप्रतिनिधि एवं पदाधिकारीहरु प्रति धन्यवाद दिदैं नगरपालिकामा आफ्नो पदस्थापना भएदेखि नैं नगरभित्रको शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष ध्यान दिदैं कार्य गर्दैअधि वढिरहेको बताउनुभयो । उहाँले नगरवासीहरुलाई स्वास्थ्य क्षेत्रमा विशेष सेवा दिने उद्देश्यले निःशुल्क रगत उपलब्ध गराएको, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विमा, केही महिनाअघि नै डायलायसिस र अहिले सिटि स्क्यानको सेवा समेत विस्तार गरेको बताउनुभयो । अस्पतालको सेवा, सुविधा र गुणस्तरीय कार्यमा प्रतिवद्ध रहेको भन्दै अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख श्रेष्ठले आफ्नो कार्यकालमा अस्पतालको आफ्नै नर्सिङ कलेज सञ्चालन र सुविधा युक्त ल्याव सम्बन्धी सेवा गर्न तयारी गरिरहेको समेत बताउनुभयो ।

नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्पतालमा विगतको तुलना धेरै परिवर्तन आईरहेको भन्दै अस्पतालमा आउने विरामी, डाक्टर र कर्मचारीहरुवीच सुमुधुर सम्बन्ध रहनु पर्ने आशय व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले अस्पतालको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मको बारेमा जानकारी दिनुहुँदै अस्पतालले नगरवासीहरुको स्वास्थ्य सेवा अझै धेरै कार्य गर्न बाँकी रहेको बताउनुभयो ।
त्यस्तै निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनतालाई सेवा सुविधा दिनु सकारात्मक भए पनि त्यसलाई गुणस्तरीयका साथ निरन्तर सेवा दिसक्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख विजयराज सुवेदीले अस्पतालले नगरवासीलगायत आसपासका जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको भन्दै अस्पतालको स्तरबृद्धि तथा सुधारकालागि नगरपालिका हरपल सहयोग गर्न तयार रहेको बताउनुभयो ।