मध्यपुर थिमि,जेठ २०, २०८०ः
इन्जिनियरिङ क्षेत्रमा स्नातकोत्तर विद्यार्थीहरू माझ लोकप्रिय कार्यक्रममा ट्रान्सपोर्टेसन इन्जिनियरिङ एक नम्बरमा पर्दछ। नेपाल इन्जिनियरिङ कलेज (नेक) मा चौध वर्ष अगाडि नेपालमै पहिलो पटक शुरु गरिएको यो कार्यक्रममा हरेक वर्ष भर्नाकोलागि विद्यार्थीहरूको चाप रहेको छ। नेपालमा यातायात सञ्जालको विकास हुने क्रममा रहेको र यसकोलागि ट्रान्सपोर्टेसन विधाका विद्यार्थीहरूको माग विभिन्न सरकारी तथा निजी निकायहरूमा हुने गरेकोले पनि यो कार्यक्रम लोकप्रिय भएको नेकका ट्रान्सपोर्टेसन इन्जिनियरिङ कार्यक्रमका संयोजक उपप्राध्यापक इन्जिनियर राजेश खड्का बताउनुहुन्छ।
ट्रान्सपोर्टेसन इन्जिनियरिङ कार्यक्रमका बीस जना विद्यार्थीहरूलाई आफ्नो कार्यक्षेत्रमा अति उपयोगी जिआइएस सिप सिकाउन नेकले विशेष तालिम कार्यक्रम सञ्चालन गरेका थिए। उपप्राध्यापक प्रतिक सिं ठकुरी प्रमुख स्रोत व्यक्तिकारूपमा रहेको यस तालिम कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेका बीस जना विद्यार्थीहरूलाई आज एक कार्यक्रमका बीच कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रमाणपत्र वितरण गरी दिक्षित गरेका थिए। सिकेको सिप स्नातकोत्तर तहको आआफ्नो शोध पत्र तयार गर्न तथा व्यवहारमा धेरैनै उपयोगि हुने कुरा आजको कार्यक्रममा दिक्षित भएका विद्यार्थीहरूले जानकारी दिएका थिए।
विश्वविद्यालयको ट्रान्सपोर्टेसन इन्जिनियरिङ कार्यक्रमको आधारभुत पाठ्यक्रममा नभएता पनि जिआइएस चलाउन जानेका इन्जिनियरशहरूको माग श्रम बजारमा अत्यधिक रहेकोले आज दिक्षित भएका विद्यार्थीहरूको औपचारिक अध्ययन सकिनासाथ जागिर खोज्न धेरै मेहनत गर्न नपर्ने बरू जागिर नै ती विद्यार्थीहरूलाई खोज्दै आउने उक्त कार्यक्रमका अर्का उपप्राध्यापक इन्जिनियर गोपाल गौतमले बताए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा नेकको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहीले सम्बन्धीत सबैलाई आभार व्यक्त गरेका थिए।