भक्तपुर बहुमुखी क्याम्पसमा तालावन्दी, नयाँं प्रमुख आएसँंगै क्याम्पस अस्तब्यस्त

क्याम्पसमा सिनियर प्राध्यापकहरु हुँदा हुँदै जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्ति गरिएकोमा बिरोध

भक्तपुर, जेठ २५ ,२०८०ः
कृष्ण किसि

दुई क्याम्पस प्रमुख रहेपछि भक्तपुर बहुमुखी क्याम्पसमा लफडा भएको छ । दुई क्याम्पस प्रमुखको हानथापले पूरै क्याम्पस अस्तव्यस्त बनेको छ । क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले २०७९ चैत ३० गते अनिवार्य अवकाश पाएका पश्चात् त्रिविले वरिष्ठताको आधारमा सहायक क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई निमित्त क्याम्पस प्रमुखमा २०८० वैशाख ३ गते नियुक्ति गरेको थियो । त्रिवि कार्यकारी परिषद्ले सहप्राध्यापक शाक्यलाई निमित्त क्याम्पस प्रमुखको हैसियतमा जिम्मेवारी दिएको करिब डेढ महिनामा जेठ १६ गते अर्की सहप्राध्यापक कविता लुइँटेल भट्टराईलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय ग¥यो । सोही अनुसार गत आइतबार लुइँटेल नियुक्ति पत्र लिएर क्याम्पस पुगिन् । निमित्त क्याम्पस प्रमुख शाक्य काम गरिरहेकै बेला नवनियुक्त क्याम्पस प्रमुख सह–प्राध्यापक लुइँटेल भट्टराई प्रवेशपछि लफडा सुरु भएको हो ।
विना जानकारी नयाँं क्याम्पस प्रमुख पद सम्हाल्न पुगेपछि कार्यबाहक क्याम्पस प्रमुख शाक्यले क्याम्पसको कागजातहरु प्रशासन प्रमुखलाई बुझाए । त्यसपछि क्याम्पसका प्रशासनिक कागजातहरु आफूलाई हस्तान्तरण गर्नुको साटो प्रशासनलाई बुझाएको भन्दै विवाद सुरु भएको हो ।

त्रिविले नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको लुइँटेल एमाले निकट मानिन्छिन् । निमित्त क्याम्पस प्रमुखका रुपमा कार्यभार सम्हाल्दै आएकी शाक्य कांग्रेस निकट हुन् । यसपछि पक्षविपक्षमा विद्यार्थी संगठनहरु पनि वाँंडिएर वादविवादमा उत्रेका हुन् । विवादकावीच नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले नवनियुक्त क्याम्पस प्रमुख लुइँटेलको कुर्सी, नेमप्लेट बाहिर फालिदिए । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखाशाखामा ताला लगाइदिएका छन् ।

नवनियुक्त क्याम्पस प्रमुख कविता लुइँटेल भटराइले काम चलाउनका लागि वरिष्ठताका आधारमा सहायक क्याम्पस प्रमुखलाई जिम्मेबारी दिएको र नियुक्तपत्र लिएर नयाँं क्याम्पस प्रमुख आएपछि स्वत कार्यबाहक हटेर नयाँंलाई कार्यसम्हाल्न दिनुपर्ने सामान्य नियम पनि पालना नभएको भन्दै दुःख व्यक्त गरे । आफू आएपछि नेविसंघका विद्यार्थीले आफनो कोठामा ताला लगाइदिएर नेमप्लेट लगायतका भुइमा बजार्दै बाहिर रुखमा झुण्डाउन लगेर कोठामा ताला लगाइदिएको जनाए । यस विषयमा छलफल गर्न बिहीबार साढे ११ बजे समय तोकिएको भए पनि नेविसंघका टोली वार्तामा नआएको उनले सुनाइन् ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन भक्तपुर बहुमुखी क्याम्पस एकाई समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले विवाद गर्नुपर्ने विषय नभए पनि कांग्रेस समर्थित विद्यार्थीको केही समूहले विवाद निकालेको बताए । यस विषयमा विद्यार्थी संगठन, शिक्षक संगठनहरुलगायतले छुटाछुटै दिनमा छुटाछुटै रुपमा विज्ञप्ति पनि निकालेका छन् । नेविसंघ इकाइको वक्तव्यमा ‘क्याम्पसमा सिनियर प्राध्यापकहरु हुँदा हुँदै जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्ति गरिएको छ । विज्ञप्तिमा भनेको छ, ‘प्रक्रिया खारेज नगरेसम्म अनिश्चितकालसम्मको लागि नेविसंघले क्याम्पस प्रमुखको कक्ष र प्रशासनमा तालाबन्दी रहने समेत जानकारी गराउँदछौं । साथै उक्त कार्यको विरोधमा हुने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयं क्याम्पस प्रशासन हुनेछ ।’

‘निमित्त चिफलाई ससम्मान बिदाइ गर्न क्याम्पस चुकेको देखियो, तर यसको मतलब नयाँ प्रमुखलाई झन् अपमान गर्नुपर्छ भन्ने होइन’, एक प्राध्यापक भन्छन् । क्याम्पसका प्रशासन प्रमुख श्याम सुवेदी निमित्त क्याम्पस प्रमुख नियुक्ति गरेको छोटो समयमा नै नयाँ क्याम्पस प्रमुख नियुक्ति गरेर पठाउँदा समस्या उत्पन्न भएको बताउँछन् । उनी भन्छन्, ‘त्रिविले एक महिना २२ दिनमै क्याम्पस प्रमुख पठाउनु थियो भने किन निमित्त नियुक्त गर्नुपरेको ? यसमा त्रिवि चुकेको देखिन्छ ।’ कार्यकारी परिषदको बैठकले नियुक्ति गरिएको भन्ने पत्र पाएपछि क्याम्पस प्रशासनले त्रिविको निर्णय कार्यान्वयन गरेको उनले बताए । सहायक क्याम्पस प्रमुख लक्ष्मीसुन्दर लवजु त्रिविले निमित्त प्रमुखमाथि गरेको व्यवहार गलत भएको बताउँछन् । उनी भन्छन् ‘१६ गतेको कार्यकारी बैठकले निर्णय गर्ने तर २१ गतेसम्म पनि निमित्तलाई जानकारी नदिनु भनेको निमित्तमाथि भएको अन्याय नै हो ।’

हेर्दाखेरि प्रक्रियागत त्रुटिजस्तो मात्रै लागे पनि यी सबै गतिविधि दलगत खिचातानीकै निरन्तरताका रुपमा प्रकट भएको देखिन्छ । तत्कालीन क्याम्पस प्रमुख अनिवार्य अवकाश भएपछि त्रिविले कांग्रेस निकटलाई बरिष्ठताको आधारमा निमित्त क्याम्पस प्रमुख नियुक्त ग¥यो ।
एमाले निकट प्रगतिशील प्राध्यापक तथा स्वयं एमाले नेतृत्वको दबाब थेग्न नसकेपछि करिब डेढ महिनामा कार्यकारी परिषद्ले सह–प्राध्यापक कविता लुईटेल भट्टराईलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको देखिन्छ । एक कर्मचारी भन्छन् ‘अन्तत अरु जे जे भए पनि घुमाईफिराई त राजनीति नै हो । तर जे भए पनि त्रिविले अथवा क्याम्पस प्रशासनले निमित्तलाई गरेको व्यवहार चाहिँ सह्य होइन । कम्तीमा उहाँलाई हामीले अथवा त्रिविले यस्तो निर्णय गरेको छ भनेर जानकारी गराउनुपर्ने थियो ।’
नवनियुक्त क्याम्पस प्रमुख सहप्राध्यापक कविता लुइँटेल भट्टराई अध्ययन विदा रहेकै बेला बोलाएर नियुक्त गरिएको भन्दै प्रगतिशीलकै एउटा खेमा पनि असन्तुष्ट रहेको एक प्राध्यापक बताउँछन् । भट्टराई पाँचवर्षे अध्ययन विदा नसकिँदै एक महिनाअघि बोलाएर क्याम्पस प्रमुख बनाइएको उनको भनाइ छ । भन्छिन् ‘उहाँ अध्ययन विदामा हुनुहुन्थ्यो । विदा नसकिँदै बोलाएर प्रमुख बनाएको भन्दै एउटा खेमा असन्तुष्ट छ ।’

२१ गते नियुक्ति पत्र लिएर एमाले निकट प्राध्यापकहरुसँग तामझाम सहित पुगेको ती प्राध्यापक बताउँछन् । उनी भन्छन्, ‘नयाँ क्याम्पस प्रमुख आउने भन्ने कुरा क्याम्पसमा खासखुस समेत थिएन तर २१ गते एक्कासी नवनियुक्त क्याम्पस प्रमुखको पदबहालीमा प्रगतिशील धारका एउटा खेमाका विदामा बसेका प्राध्यापकहरु समेत देखिए ।’
त्रिविका उपकुलपति र रजिष्ट्रारले शाक्यलाई नै क्याम्पस प्रमुख बनाउने आश्वासन दिएका कारण अर्को क्याम्पस प्रमुख भएर आउँदा झन् धेरै पीडित महशुस गरिरहेको बताउँछन् । उनी भन्छन् ‘केही समयअघि नै अर्को क्याम्पस प्रमुख नियुक्त हुन्ने गाँइगुँई सुनेपछि मैले मेमलाई भनेको हुँ तर उहाँले होइन भीसी सर, रजिष्ट्रार सरले तपाईं नै हुनुहुन्छ भन्नुभएको छ भन्दै ढुक्क हुनुहुन्थ्यो ।’
क्याम्पसका एक प्राध्यापक निमित्त क्याम्पस प्रमुख भएकाले पूर्णकालीन क्याम्पस प्रमुख नियुक्त गर्ने त्रिविको निर्णय गलत नभएको बताउँछन् । नेविसंघ आफैंले नभएर प्रजातान्त्रिक प्राध्यापकहरुको इशाराको भरमा विरोध गरिरहेको उनको बुझाइ छ । भन्छन् ‘यो सबै राजनीतिक हरकत हुन् । नेविसंघ आफैंले स्वतःस्फुर्त नभएर प्रजातान्त्रिक प्राध्यापकहरुको इशारामा हो । अहिलेको क्याम्पस प्रमुख योग्य हुनुहुन्छ । विरोध गरिराख्नुपर्ने जरुरी देख्दिनँ ।’
क्याम्पसमा भइरहेको यो घटनाको विषयमा स्ववियु पनि विभाजित देखिएको छ । स्ववियुले अराजक शैलीमा क्याम्पस प्रमुख नियुक्ति भएको, क्याम्पस प्रशासन तथा स्ववियुलाई विना जानकारी क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ । तर यो विषयमा अबको भूमिका कस्तो हुने भन्ने विषयमा बैठक बस्न सकेको छैन ।
बुधबार अनेरास्ववियु र अखिल क्रान्तिकारीले भक्तपुर बहुमुखी क्याम्पसमा भएको तालाबन्दी र क्याम्पस प्रमुखले पद बहाली गर्ने क्रममा भएका घटनाको छानबिन गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।
अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष यादव दुलाल (स्ववियु सचिव) ले विज्ञप्ति जारी गर्दै त्रिविले क्याम्पस प्रमुख नियुक्त गरेको कविता लुइँटेललाई कुनै कारण बिना अभद्र व्यवहार गरिएको र क्याम्पसको भौतिक सम्पत्तिमाथि क्षति पुग्ने खालको गतिविधिको विरोध भएको जनाएको छ । स्ववियु सभापतिले कुनै एक विद्यार्थी संगठनको विरोधको समर्थनमा निकालिएको विज्ञप्तिप्रति पनि अनेरास्ववियुले विरोध जनाउँदै सच्याउन माग गरेको छ । स्ववियु सभापति पुकार पराजुली नेविसंघबाट चुनिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!