भक्तपुर, साउन १६, २०८०ः
वातावरण संरक्षण मञ्च भक्तपुरको आयोजनामा जिल्लाव्यापी मा वि स्तरीय निबन्ध प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
स्वच्छ वातावरण बनाउन स्थानीय निकाय, समुदाय र विद्यार्थीको भूमिका विषयमा भएको निबन्ध प्रतियोगितामा आदर्श आजाद मावि भेलुखेलकी रेणु माकजु प्रथम, दधिकोट इंगलिस सेकेन्डरी स्कुलकी रितु मानन्धर द्वितिय र इडेन गार्डेन इंगलिस स्कुल सुर्यबिनायककी सदिक्षा तृतीय भएका थिए । सो प्रतियोगितामा भक्तपुर जिल्लाका १६ विद्यालयबाट १८ जना विद्यार्थीले भाग लिएका थिए।
कार्यक्रमको प्रमुख अतिथि तथा प्राध्यापक डा. दिनेशराज भुजूले वातावरणको खराबीले पुरै पृथ्वीलाई परेको नराम्रो असरबाट बच्न वैज्ञानिकहरुले अर्को पृथ्वी बनाएर परीक्षण र वातावरण जाेगाउन थुप्रै प्रयासहरू भैरहेको बताउनुभयो। उहाँले मानिसलाई स्वस्थ राखेर स्मरण शक्ति बढाउन अक्सिजन चाहिने भएकोले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो। सोही कार्यक्रममा रोम्बस इंलिस स्कुलका प्रिन्सिपल डा. राजेन्द्र कोजुले वातावरणको विषयमा विशेष चासो राख्दै वातावरण संरक्षणमा आफूले सिकेका कुरा बिद्यार्थीलाई बाँड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वातावरण संरक्षण मञ्च भक्तपुरका अध्यक्ष न्हुछेबहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा महासचिव मणिराम लामिछाने र संस्थापक अध्यक्ष जयराम थापा लगायतले बोलेका थिए ।