भक्तपुरमा धानबालीमा लाग्ने रोग किरा व्यवस्थापन र समसामयिक विषयमा कृषक भेला सम्पन्न

भक्तपुर, २०८० साउन १६ः

भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्रका किसानहरुबीच धानबालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा समसामयिक विषयमा मंगलबार कृषकहरुको भेला गरेको छ । भेलामा सम्बोधन गर्दै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले धानबालीमा लाग्ने रोग किरा नियन्त्रणको विषयमा वडा वडामै प्रशिक्षणहरु सञ्चालन गरी किसानहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानसँग जोडिएका कुनै काम गर्न नसकेको भन्दै उहाँले नार्कका कृषि वैज्ञानिकहरुलाई नयाँ नयाँ अनुसन्धानमा क्रियाशील बनाउनुपर्ने र कृषि प्राविधिकहरु उत्पादन गर्नेतर्फ सरकारले जोड दिनुपर्ने बताउनुभयो । भक्तपुर नपाले माटो परीक्षण गर्ने प्रयोगशाला निर्माणमा जोड दिने बताउँदै उहाँले नेपाललाई आत्मनिर्भर बनाउन कृषि अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले गण्डक सम्झौताको कारण तराईका किसानहरुले समयमै धान रोप्न नसकेको यथार्थ बताउँदै यसले नेपालमा खाद्यान्न उत्पादनमा कमी ल्याउनुका साथै विदेशबाट धेरै मात्रामा खाद्यान्न आयात गर्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ सबै सजग हुनुपर्ने बताउनुभयो ।

त्यस्तै भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले किसानहरुलाई रोग नियन्त्रणका उपायहरुबारे सजग बनाए खाद्यान्न उत्पादनमा समेत वृद्धि हुने भएकोले नगरपालिकाले यस किसिमको कार्यक्रम आयोजना गर्दैै आइरहेको बताउनुभयो ।

नेक्राकिसंघका उपाध्यक्ष गोविन्द दुवालले नेपालले कृषि प्राविधिकहरुको उत्पादनमा जोड दिनुपर्ने बताउँदै धानबालीमा लाग्ने रोगहरुबारे किसानहरु समयमै सचेत भए भविष्यमा हुने नोक्सानीबाट जोगिने बताउनुभयो ।

भनपाका कृषि अधिकृत रवि ख्याजुले धानबालीमा लाग्ने विभिन्न रोगको प्रकोप र त्यसको नियन्त्रणका उपायहरुबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
उक्त कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!