मन्थली नगरपा्लिकाका प्रमुख लव श्रेष्ठलाई भक्तपुर नगरपालिकामा स्वागत

भक्तपुर, २०८० साउन १७ः

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग रामेछापको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ सहितको जनप्रतिनिधि टोलीले भेट गर्नुभयो । नगर प्रमुख प्रजापतिले प्रमुख श्रेष्ठसहितको टोलीलाई भादगाउँले टोपी र खादाले सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्नुभयो ।

सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन लिएर हाल ८ वटा शैक्षिक संस्था सञ्चालन गरिरहेको र देशभरका ७ हजारभन्दा बढी विद्यार्थीहरुले ती शैक्षिक संस्थाहरुमा उच्च शिक्षा हासिल गरिरहेको बताउनुभयो । विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्था गर्दै भक्तपुर नगरपालिकाले सहजता प्रदान गर्दैै आइरहेको बताउँदै उहाँले नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ विशेष जोड दिँदै आएको बताउनुभयो । भक्तपुरले जस्तै सामुदायिक विद्यालय, स्वास्थ्य, विकास निर्माण लगायतका क्षेत्रहरुमा सुधार गर्ने अभिप्रायले देशका धेरै स्थानीय तहहरुले भक्तपुरको अध्ययन भ्रमण गरिएको बताउँदै उहाँले देशभर जनस्तरबाट शैक्षिक संस्थाहरु सञ्चालन भएमा गरिब जनताका छोराछोरीहरु लाभान्वित हुने बताउनुभयो ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थली नपामा विभिन्न जात, जाति, भाषा, भाषी र संस्कृति, संस्कार भएका नागरिकहरु बसोबास रहेको बताउँदै शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै काम गर्दै आइरहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको अत्यधिक सम्भावना भएको नगरपालिका भए पनि बजारीकरणको समस्या रहेको बताउँदै युवाहरुमा सहरकेन्द्रित मानसिकता बढी रहेको बताउनुभयो । कृषि र भेटेनरी विषयको अध्ययन अध्यापनको लागि प्राविधिक शिक्षाहरु सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, मन्थली नपा वडा नं. ५ का वडाध्यक्ष रविन कार्मी, निवर्तमान वडाध्यक्ष राजेन्द्र चौहान र सामाजिक अभियन्ता विपिन भट्टराईलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!