सापारुको तयारीस्वरुप सांस्कृतिक गुरुहरुको भेला सम्पन्न

भक्तपुर, २०८० साउन २२ः

भक्तपुर नगरपालिकाले २०८० सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरुको प्रतियोगिताको तयारीस्वरुप आज भक्तपुरका सांस्कृतिक गुरुहरुको भेला गरेको छ ।
नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई जीवन्त सहरको रुपमा परिचित गराउन भक्तपुरका मूर्त र अमूर्त सम्पदा, कला र संस्कृति जोगाइराख्नु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले समाज परिवर्तन र सुधारको निम्ति सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताउँदै नजिकिँदै गरेको गाइजात्रा पर्वलाई सुरक्षित, सभ्य र सुसंस्कृत ढंगले सम्पन्न गर्न सबैजना क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले भक्तपुरका सांस्कृतिक गुरुहरु विश्वविद्यालयका प्राध्यापकहरु सरह भएको बताउँदै मानिसलाई शिक्षा र अनुभवले धेरै कुरा सिकाउने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले सापारु पर्वलाई प्रगतिशील ढंगले सञ्चालन गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउँदै नगरका विद्यालयहरुमा परम्परागत नाच र बाजाहरुको प्रशिक्षणहरु सिकाउने क्रम चालु रहेको बताउनुभयो ।

भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक प्रतियोगिता आयोजनाले सभ्य र सुसंस्कृत समाज निर्माणमा समेत मद्दत पुर्याउने बताउँदै सांस्कृतिक गुरु र कलाकारहरुको सीपलाई जीवन्त राख्न समयसान्दर्भिक प्रतियोगिताहरुको आयोजना हुनु स्वागतयोग्य भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न विधाका संस्कृतिकर्मीहरुले लोप हुन लागेका परम्परागत नाचहरुको जोगाउनुपर्ने, प्रतियोगिताका सहभागी र विजेताहरुलाई समयसापेक्ष ढंगले पुरस्कार राशी वृद्धि गर्नुपर्ने, गाईजात्रामा उच्छृंखल गतिविधिलाई निरुत्साहित गर्नुपर्ने, गाईजात्रा प्रतियोगिता मूल्यांकनस्थलमा मात्र सीमित नभई गाईजात्रा रुटअनुसार सबै ठाउँमा प्रदर्शन गर्नुपर्ने, भक्तपुरका कला संस्कृति, नाच र बाजागाजा अध्ययनको लागि अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, उत्तेजित ढंगले बाजा बजाउने अवस्थालाई नियन्त्रण गर्नुपर्ने, आधुनिक र परम्परागततर्फ प्रस्तुत हुने गाइँचा म्येहरुलाई लिपिबद्ध गर्नुपर्नेलगायतका धारणाहरु राख्नुभयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले धन्यवादज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!