असोज ६, २०७१ मा स्वर्गारोहण हुनु भएकी स्व. सहाना प्रधानको नेपालका कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ संग बिबाह भएको थियो । वहाँको राजनैतिक भूमिका आफ्नो ठाउँमा छ नै तर म यहाँ वहाँको शैक्षिक योगदानको रूपमा सम्झन्छु । पोखरामा रहेको पृथ्वीनारायण कलेजमा शुरुवाती समयमा शिक्षिकाको रूपमा सेवा गर्नु भएको थियो ।
स्वर्गीय सहाना प्रधानको जन्म काठमाडौको पुरानो बस्ति असनमा भएको थियो । सानै उमेरमा आमाको देहावसान भएपछि बुबाका साथ बर्मामा पुगेकी थिइन । बाल्यकालका अधिकांश समय बर्मामा नै बिताइन । १३-१४ वर्षको उमेर पुग्दा बर्मामा जापानी आक्रमण हुने थालेपछि एक किसिमको त्रास शुरु भयो । बुबाको स्वदेश नै फर्कने निधो भएपछि दाजुभाइ तथा दिदीका साथ सहाना पनि बर्माबाट काठमाडौ यात्रामा निस्किइन । निकै दुखकष्ट झेल्दै बि.सं. २००० मा सहानाको परिवार काठमाडौ आइपुगेका थिए । यस बिच बाटोमा दाजु गौरीभक्त प्रधान नराम्रोसंग विमार समेत भएका थिए ।
दाजुभाइलाई काठमाडौ पुगेको केही समयमा नै दरवार हाइस्कुलमा भर्ना गरिए पनि दिदीबहिनीलाई भने पढ्न अनुमति दिइएको थिएन । पछि बल्ल भर्ना हुन पाइन । ढिलो भर्ना भए पनि २००४ सालमा एसएलसी उतिर्ण गर्न सफल भइन ।
राणाविरोधी आन्दोलनमा लाग्दा लाग्दै राजनीतिमा निकट सम्वन्ध भएको पुष्पलाल श्रेष्ठसंग नै २०१० सालमा विवाह भयो । पुष्पलाल सहिद गंगालाल श्रेष्ठका माहिला भाइ हुनुहुन्थ्यो । विवाह पछि अधिकांश महिलाहरु आफ्नो जन्म घरको सम्झना गराउने माइतको थर परिवर्तन गरेर पतिको थर राख्न थाल्दछन् । तर सहानाले यो विद्रोहको शुरुवात गरेर पतिको थर नराख्ने निधो गरेकी थिइन् । र आजन्म सहाना प्रधानका रुपमा नै सबै सामु परिचित भइ रहिन् । दिदी साधना प्रधानले पनि मनमोहन अधिकारीसंग विवाह गरे पनि साधना अधिकारीका रुपमा परिचय दिइनन् । आजन्म साधना प्रधान नै बनिरहिन् । हामी कहाँ अचेल पनि महिलाहरु विवाह भएर नयाँ घर पुगेको दिनमा नै आफ्नो अस्तित्व हराए झै पतिको थर राख्न शुरु गर्ने गर्दछन् । सबैभन्दा पहिले सामाजिक सञ्जालमा रहेको आफ्नो नामको पछाडि थर परिवर्तन गर्ने गर्दछन् । म यसको पक्षमा छैन । जन्मघरको अस्तित्वलाई आफ्नो साथ बोकिरहनु पर्दछ ।
दिदी साधना प्रधान नेपालको पहिलो निर्वाचित जनप्रतिनिधि पनि भएकी थिइन् । २०१० सालमा भएको काठमाडौ नगर पालिकाको चुनावमा वडा नं ८ बाट विजयी भएर पहिलो महिला जनप्रतिनिधि बन्ने सौभाग्य प्राप्त गरेकी थिइन् ।
सहाना प्रधानले लखनउमा पढाइ पुरा नगरि फर्केर काठमाडौमा आइ २००७ सालमा कन्या मन्दिर, शान्ति निकुञ्ज तथा सीताराम हाइस्कूलमा पढाउनु भएको थियो। २०१० सालमा विवाह पछि शिक्षण पेशा छुटे पनि परिवार प्रतिको दायित्वबाट टाढिनु भएन । जसले गर्दा पतिको राजनैतिक जीवनमा सघाए पनि आफू राजनीतिमा आउनु भएन । यहि बिच २०१७ सालको राजनैतिक परिवर्तन पछि पति पुष्पलाल निर्वासित जीवन बिताउन बाध्य हुनु भए पछि वहाँले परिवारको दायित्वको लागि शिक्षण पेशा फेरी अंगाल्नु भयो । यहि क्रममा २०१९ सालमा केही समय पोखरामा रहेको पृथ्वीनारायण कलेजमा पढाउनु भएको थियो । पोखरा पछि वहाँ पद्मकन्या कलेज, त्रिचन्द्र कलेज तथा त्रिभुवन विश्वविद्यालयमा समेत पढाउनु भयो ।
स्व. सहाना प्रधान प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु ।
तस्विरमा सेतो साडीमा स्व. सहाना प्रधान ।
