भक्तपुर । २०८० असोज २६ गते,
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विभिन्न देशका प्रतिनिधि टोलीलाई बिहीबार सांस्कृतिक नगरी भक्तपुरमा खादा, भादगाउँले टोपी र परम्परागत थैलीले स्वागत गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भौगोलिक दृष्टिले अलग अलग देशमा रही आए पनि सूचना र प्रविधिले एकआपसमा नजिक्याएको बताउँदै विभिन्न देशहरुसँगको पारस्परिक सहयोग पनि हुँदै आएको बताउनुभयो । नेपाल सरकारलाई विशेषगरी व्यापार, पर्यटन र शैक्षिक क्षेत्रमा मित्र देशहरुले महत्वपूर्ण सहयोग र योगदान गरिरहेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुरको कला र संस्कृति हाम्रो पहिचान हुन् र त्यो देशको सम्पत्ति पनि हुन् । हामीले ती सम्पत्तिहरूलाई संरक्षण र सम्बद्र्धनमा जोड दिँदै आएका छौं ।’
नगरपालिका प्रवेश गर्ने पर्यटकहरूसँग उठेको शुल्कबाट भक्तपुरको कला, संस्कृति संरक्षण, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा खर्च गर्दै आइरहेको बताउँदै प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुर नपा अत्यन्त संवेदनशील भई सक्रियतापूर्वक अगाडि बढिरहेको बताउनुभयो । भक्तपुर नपाले विदेशीको सहयोगलाई भन्दा यहाँका स्थानीयहरूसँग मिलेर विकास गर्छौंं भन्ने भावनाले काम गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुरमा उपभोक्ता समितिबाट भएका कामबाट स्थानीयले रोजगारी पाउने, गुणस्तरीय निर्माण हुने, कम खर्च, स्थानीय सीप र प्रविधिको प्रयोग हुने गरेको बताउँदै उहाँले भक्तपुर नपा शिशुस्याहार केन्द्रदेखि कलेजहरू सञ्चालन गर्ने देशकै एक मात्र स्थानीय तह भएको बताउनुभयो । भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा रहेको र विश्वविद्यालय सञ्चालनको लागि सरकारको स्वीकृतिको पर्खाइमा रहेको समेत उहाँले उक्त कार्यक्रममा अवगत गराउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले २०७२ सालमा गएको भूकम्पको असर, निजी घर तथा सम्पदा पुनःनिर्माणमा परम्परागत प्रविधि, संस्कृति संरक्षणमा भक्तपुर नपाको भूमिका, राष्ट्रिय कला संग्रहालय पुनःनिर्माण आदिबारे प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले भक्तपुरको शिक्षा, सम्पदा, सरसफाई, पर्यावरण सुरक्षा, फोहोरमैला व्यवस्थापन, वायु प्रदूषण, खानेपानी व्यवस्थापन आदि विषयमा नगर प्रमुख र उपप्रमुखसमक्ष जिज्ञासा राख्नुभएको थियो भने टोलीका प्रतिनिधि मार्क हार्भेले भक्तपुरले गरेको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुरका सांस्कृतिक सम्पदाहरू अद्धितीय भएको र भक्तपुर साँच्चै नै सुन्दर र आकर्षक सहरको रुपमा पाएको बताउनुभयो । नगर प्रमुख प्रजापतिले प्रतिनिधि टोलीलाई भक्तपुर नपाको फोटो पुस्तक उपहारको रुपमा प्रदान गर्नुभएको थियो । टोलीमा बेलायत, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, लावस, भारतलगायत विभिन्न देशका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
टोलीले भक्तपुरको दरबार क्षेत्रका सांस्कृतिक सम्पदाहरु, टौमढी क्षेत्र, पोटरी स्क्वायर, दत्तात्रय, वाकुपति नारायण हुँदै भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको समेत अवलोकन गर्ने कार्यक्रम रहेको पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले जानकारी दिनुभयो ।