भूकम्प पीडितहरुको राहत सामग्रीमा आगजनी गर्ने दुईजना पक्राउ

रुकुमपश्चिम, कात्तिक २६ गते ।

रुकुमपश्चिममा भूकम्प पीडितहरुको राहत वितरणमा आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । आज बेलुका राहत सामग्रीमा चित्त नबुझेको भन्दै सानीभेरी गाउँपालिका २ को परिगाउँ टोलमा भूकम्प प्रभावितहरुको राहत सामग्रीमा आगो लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले राहत सामग्री आगजनी गर्ने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरिएको बताउनुभयो । सोही वडाका गोपाल बुढा र खिमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो । आगजनीबाट १५ थान कम्बल जलेर नष्ट भएको प्रहरीको भनाइ छ । उनीहरुले आफूले पाएका कम्बलमा समेत आगो लगाएका छन् ।

वडा कार्यालयबाट परिगाउँ टोलमा पठाइएका राहत सामग्रीमा आगो लगाइएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष मानबहादुर पुनका अनुसार भूकम्प पीडितहरुका लागि वडामा प्राप्त राहत सामग्रीहरु सम्बन्धित टोलहरुमा पठाएर वितरण गर्ने क्रममा वडाको परिगाउँ टोलमा आगजानी भएको हो ।

भूकम्पबाट प्रभावित परिवारलाई राहत वितरण गर्ने क्रममा परिगाउँ टोलमा गएका एक चरणका कम्वलमा आगो लगाइएको हो । राहत वितरणमा चित्त नबुझेको बहानामा उनीहरुले लगाएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!