काठमाडौँ, मङ्सिर १६ गते ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी शनिबारदखि ‘विश्व माटो दिवस २०२३’ मनाउने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले यस पटक मङ्सिर १६ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम मनाउने बताउनुभयो । माटोको गुणस्तरका बारेमा प्रचारप्रसार, मोटोको परीक्षणका बारेमा जानकारी गराउनेलगायतका विषयमा कार्यक्रम गरी मनाउने उहाँले बताउनुभयो ।
दिवसको अवधिमा माटोको निःशुल्क जाँच शिविर तथा स्वच्छ माटोको आवश्यकता लगायतका विषयमा जानकारी गराउँदै यो दिवस मनाउने तयारी रहेको उहाँले बताउनुभयो । माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टका अनुसार दिवसको मुख्य कार्यक्रम मङ्सिर १९ गते रहेको छ ।
एफएओको सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।