पशुपतिमा एक महिने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सुरु

काठमाडौँ, साउन १, २०८१ः

मानवसेवा फाउन्डेसनले आयोजना गरेको ‘ऐतिहासिक पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ आज देखि सुरु भएको छ । विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुनेछ ।

श्रावण महिनाभरि चल्ने महायज्ञ अवधिभरि एकसय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुनेछ ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ । महायज्ञको पूर्वसन्ध्यामा कलश शोभा यात्रा गरिएको थियो ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको हो । मानवसेवा फाउन्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!