‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’: प्रधानमन्त्री ओली

काठमाडौँ, २ साउन, २०८१ः

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मानव सेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गराउने अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक सहयोग रहनेछ भन्नुभयो । सो अवसरमा घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको उचित संरक्षण र पालनपोषण गर्दै आइरहेको मानव सेवा आश्रमका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापनपत्र समेत दिइएको थियो ।

भेटमा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नीति तथा कार्यक्रममा २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने सङ्कल्पलाई साकार पार्न मानव सेवा आश्रम सरकारको सहयोगी भई यस अभियानलाई सफल बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

यसैबीच, मानव सेवा आश्रमकी संरक्षक राधिका शाक्यले श्रावण सङ्क्रान्तिका अवसरमा मानव सेवा आश्रममा आश्रित आमाबुबाहरूका लागि हिजो साँझ विशेष भोजन सेवा प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!