काठमाडौं, साउन १५, २०८१ः
प्रधानमन्त्री केपी शर्मा ओलीले आज उपसचिवहरूलाई आवश्यक निर्देशन दिने भएका छन्। गत आइतबार ६ घण्टा सबै सचिवहरूसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा राय लिएका थिए।
सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार सचिवहरूले निर्माण व्यवसायीको भुक्तानीको समस्यादेखि संविधानसँग बाझिएका कानुनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सिंहदरबारमा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिएका थिए। बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरूको सहभागिता थियो ।
सचिवको ब्रिफिङ सुनेका ओलीले आज दिउसो २ बजे सबै सचिवहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।
बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी हुनेछन्।