काठमाडौं, १४ असोज २०८१ः
नेपाल भेटेरिनरी एशोसिएसनले यहि असोज १० गतेबाट परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा प्राकृतिक विपदमा परेका सम्पूर्ण पशुपंक्षीको उद्धार, राहत तथा उपचारका लागि स्वःस्फूर्त रुपमा जुट्न आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ।
एशोसिएसन केन्द्रिय अध्यक्ष डा. रामकृष्ण खतिवडा तथा केन्द्रिय महासचिव डा. केदार सुवेदीले संयुक्त रुपमा आज एक अपिल जारी गर्दै बिपदको चपेटामा परेका पशुपंक्षीको क्षतिको विवरण संकलन गरी कृषकहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न तथा मरेका पशुपंक्षीको उचित व्यवस्थापन गर्न नेपाल सरकारसंग माग गरेको छ।
“हराई रहेका नागरिकहरुको तिव्रताका साथ खोजी तथा उद्धार कार्यहरु गर्नका लागि सरकार तथा आम जनसमुदायमा हार्दिक अपिल गर्दछौ। ” अपिलमा भनिएको छ।एशोसिएसनले विपदमा परी ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रदान्जली प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
एशोसिएसनले प्राकृतिक विपद पश्चात मानिस तथा पशुपन्छीमा फैलन सक्ने संक्रामक तथा महामारी जन्य रोगहरुको व्यवस्थापनको पूर्व तयारी गर्न, आवश्यक जनशक्ति परिचालन गर्न तथा औषधी उपचारको व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ।