कास्की, २३ असोज २०८१ः
जिल्ला प्रशासन कार्यालयले अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल १ सय रुपैयाँमा बेचेपछि पोखरा–६ बैदामस्थित द वर्ल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख जरिवाना गरेको छ।
पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए। सोही स्थानका एक ग्राहकले २० पर्ने एक बोतल मिनरल वाटर एक सय तिरेको बिल सहित प्रशासनमा उजुरी गरेका थिए।
स्थानीय प्रशासनले सो रेष्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ।