भक्तपुर, २३ असोज २०८१ः
भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पताल स्वास्थ्य विमा सेवा प्रदान गर्ने अस्पतालहरुमध्ये देशमा सातौं स्थानमा रहेको स्वास्थ्य विमा बोर्डले जनाएको छ ।
बोर्डकाअनुसार पहिलो भरतपुर अस्पताल चितवन, दोश्रो विपी कोइराला इन्स्टीच्युट अफ हेल्थ साइन्स, तेश्रो धुलिखेल अस्पताल, चौथो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पाँचौ नोबेल मेडिकल कलेज, छैटौ दमक मेडिकल कलेज, आठौं बकुलहर रत्न नगर अस्पताल, नवौं नेपाल कोरिया मैत्री नगर अस्पताल र दशौं हेटौडा अस्पताल रहेको छ ।
स्वास्थ्य विमा बोर्डले हरेक वर्ष स्वास्थ्य विमा सेवा प्रदान गर्ने देश भरका अस्पतालहरुको उच्च १० अस्पतालको नाम सार्वजनिक गर्ने गरेको छ । गत वर्ष ख्वप अस्पताल आठौं स्थानमा रहेको थियो ।
हरेक दिन आठ सयदेखि नौ सयसम्म बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको ख्वप अस्पताल १०० शय्याको स्विकृति प्राप्त अस्पताल हो । उक्त अस्पतालमा बिशेषज्ञ र मेडिकल अफिसर गरी ५५ जना चिकित्सक र ५९ जना नर्स सहित अन्य प्रशासनिक कर्मचारीहरु गरी हाल कूल २२३ जना जन शक्ति कार्यरत छन् ।
ख्वप अस्पतालले गत आ.ब.२०८०।८१ मा देशका ७० भन्दा बढी जिल्लाका २ लाख ५३ हजारभन्दा बढी बिरामीलाई सेवा दिएको थियो । अस्पताल आउने बिरामीहरुमध्ये ८० प्रतिशतभन्दा बढी विमा आबद्ध छन् । चालू आ.ब. २०८१।८२ मा साउनदेखि असोज २२ गतेसम्ममा ६६ हजार भन्दा बढी बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरि सकेको अस्पतालेको तथ्याङ्कले देखाउँछ । भनपा वडा नं. ९ च्याम्हासिह स्थित उक्त अस्पताल २०७८ साल बैशाख १७ गतेबाट औपचारिक रुपमा ख्वप अस्पतालको नाउँबाट सेवा शुरु गरिएको थियो । २०७३ सालमै जिल्ला जन स्वास्थ्य केन्द्रबाट २५ शय्याको ख्वप अस्पताल स्विकृति प्राप्त गरिए पनि जन स्वास्थ्य केन्द्रको नाउँमा सेवा दिइ आएको थियो । बिरामीको चाप र आवश्यकतालाई ध्यान दिएर थप सेवा बिस्तार गर्दै लगेको अस्पतालले जनाएको छ । चालू आर्थिक वर्षदेखि सिटी स्क्यान सेवा प्रदान गर्ने उद्देश्यले खरिद प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
सरकारी मापदण्ड भित्र रहेर अस्पतालले सस्तो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । सम्पूर्ण नगरबासीहरुलाई निःशुल्क अक्सिजन वितरण गर्ने नेपालको एक मात्र नगर भक्तपुर नगरपालिका हो । भक्तपुर बासीहरुका लागि उपचारमा चाहिने आवश्यक रगत पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।