मध्यपुर महोत्सव २०८१ मा लोप हुन लागेका स्थानिय परम्परागत खेलहरु अबलोकन गर्न पाईने

मध्यपुर थिमि, २३ कार्तिक २०८१ः
रत्न काजि प्रजापति

पर्यटन विकासको लागि मध्यपुर महोत्सव – २०८१ भन्ने मुल नाराका साथ यहि २०८१ पुस १२, १३ र १४ गते, ने.सं.११४५ थिंल्लागा १२, १३ र १४ मा हुन गैरहेको मध्यपुर महोत्सबले मध्यपुर क्षेत्र भित्रका थुप्रै ओझेलमा परेका मुर्त अमुर्त सम्पदाहरुका साथ साथै नेवाः जीबनशैली संग प्रत्यक्ष रुपमा जोडिएका लोपोन्मुख परम्परागत खेलहरुलाई पुन एक पटक उजागर गर्ने आशा जगाएको छ।

मध्यपुर महोत्सब सम्बन्धि जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मध्यपुर महोत्सव मूल समारोह समितिका संयोजक तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आसन्न महोत्सबमा लोप हुन लागेका परम्परागत खेलहरुलाई प्रदर्शनीमा राखिने जानकारी दिनु भयो। प्रमुख श्रेष्ठले महोत्सबमा परम्परागत खेलहरू अन्तर्गत लैलै (घ्वाँय् कासा वा पाँय् कासा), खिपः कासा, यकंधाला, गाडी ब्वाकेगु, घःचाः तुइकेगु, तुतुमाकचा, ह्वाकरा, पाँयचा, कसि, गुच्चा, मचाकथि, ख्वः सिं आदि जस्ता खेलहरुलाई बिशेष महत्वका साथ प्रदर्शन गरिने बताउनु भयो। हाल यी खेलहरु बिशेष समयमा बाहेक त्यति प्रचलनमा रहेको पाईदैन।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुदै प्रमुख श्रेष्ठले भन्नु भयो, ” मध्यपुर महोत्सवमा स्थानीय कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, सम्पदा र जीवनशैलीको जीवन्त अवलोकन र अनुभव गर्न सकिनेछ। ” महोत्सवलाई सबै उमेर समुह (वृद्ध, वयस्क, युवा, बालबालिका), विशेषज्ञ, नेवा: परिकारका पारखी आगन्तुकहरूको रूचीलाई केन्द्रमा राखी महोत्सव डिजाइन गरिएको पत्रकार सम्मेलनमा उहाले जानकारी दिनु भयो।

 

 

मध्यपुर थिमिका मूख्य पुरातात्विक स्मारक क्षेत्रहरू जस्तै क्वलाखु अजिमा (बालकुमारी ) परिसर, लोकेश्वर मन्दिर परिसर, थिमि लायकू परिसर, सिवाः परिसर, दिगू परिसर, इनायक्व (सिद्धिकाली) परिसर, पाटीविहार परिसर, न्यागाः परिसर, लाछि (सिद्धिगणेश) परिसर, पाचो तथा बोदे लायकू परिसर, पलिस्वां पुखू तथा कालिका मन्दिर परिसर, विष्णुघाः परिसर, भांगु (महालक्ष्मी) परिसर, टिगनी तधांटोल परिसर, नीलबाराही मन्दिर परिसरलाई बिशेष प्राथमिकतामा राखि मध्यपुर थिमिका बिभिन्न कला संस्कृतिहरू जस्तै भैलः नाच, महाकाली नाच, अष्टमातृका नाच, थिमि लाखे नाच, नागाचा प्याखं, इन्द्र अप्सरा प्याखं, पुलुकिसि,बिस्का जात्रा गरिने खतहरु प्रदर्शनीमा राखिने प्रमुख श्रेष्ठले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!