निर्दयी तरिकाले पशु ओसारपसार गर्ने ट्रक चालक पक्राउ

कपिलवस्तु, २४ कार्तिक २०८१ः

गोरुलाई निर्दयी तरिकाले बाँधेर ओसारपसार गरिरहेको आरोपमा एक ट्रक चालक पक्राउ परेका छन्। चन्द्रौटा–कृष्णनगर सडक खण्ड अन्तर्गत शिवराज नगरपालिका-७ जवाभारीबाट बारा निजगढ नगरपालिका-४ घर भएका २६ वर्षीय ट्रक चालक कमल धामी शुक्रबार ५ बजे पक्राउ परेका हुन्।

उनले २१ वटा गोरुका पुच्छर ट्रकको छतमा डोरीले बाँधेका थिए भने नाक पनि डोरीले छेडेर बाँधेका थिए। त्यस्तै गोरुलाई खुट्टा बाँधेर पल्टाएका थिए। प्रहरीका अनुसार ना६ख ३७०८ नम्बरको ट्रक पूरै त्रिपालले ढाकेर सास फेर्नसमेत गाह्रो बनाएर एक ठाउँबाट अर्को ठाउँमा गोरु ओसारपसार गर्दा उनी पक्राउ परेका हुन्।

क्रुर यातना दिई मापदण्ड विपरीत पशुप्रति निर्दयी व्यवहार गरेको पाइएकोले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणी अधिकारीले बताए।

घटना पश्चात सबै गोरुको डोरी काटेर जवाभारीको वनमा छाडिएको छ। अमानवीय काम गर्ने सवारी चालक धामी र सवारीसाधन नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० (पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने) को (१) बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!