स्थानीय तहको उपनिर्वाचन भोलिः आयोगले जारी गर्‍यो ३ बुँदे निर्देशन

काठमाडौं, १५ मंसिर २०८१ः

भोलि आइतबार हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई ३ बुँदे निर्देशन जारी गरेको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८ बमोजिम निर्देशन जारी गरेको हो। जसअनुसार मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाउन नहुने उल्लेख छ।

यस्तै मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने, मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुने पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने उल्लेख छ।

यस अनुसार मतदानको दिन उपरोक्त बमोजिम कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारबाही गर्न सक्नेछन्।

आयोगले मतदान केन्द्रको परिसर भित्र आचारसंहिता विपरीत कुनै कार्य वा अन्य अवाञ्छित गतिविधि हुन नदिन आह्वान समेत विज्ञप्तिमार्फत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!