आधारभूत विद्यालयहरु उच्च शिक्षाको जग हो ः प्रमुख प्रजापति

शैक्षिक प्रगतिमा अझ सुधार हुँदै जाने आशा व्यक्त

भक्तपुर, २०७९ फागुन १०:
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपा वडा नं. ५ वासिकचास्थित चण्डेश्वरी आधारभूत विद्यालयको ६३ औं वार्षिकोत्सवक कार्यक्रम बुधबार विद्यालय प्रांगणमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले आधारभूत विद्यालयहरु उच्च शिक्षाको जग भएको हुँदा भक्तपुर नगरपालिकाले नगरभित्रका आधारभूत विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक आधारहरु तयार गर्ने काम गर्दै आइरहेको बताउनुभयो । विद्यालय स्थापनाको ६३ वर्ष पार गरिसकेको चण्डेश्वरी विद्यालयको शैक्षिक प्रगतिमा अझ सुधार हुँदै जाने आशा व्यक्त गर्दै भक्तपुरका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
शिक्षामा भइरहेको निजीकरण र उदारीकरणले गरिब जनताका छोराछोरीहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुँदै आएको प्रसंग जोड्दै उहाँले विद्यालयले आफ्नो भौतिक संरचनाको सुधारसँगसँगै शिक्षाको जगलाई स्तरीय बनाउन आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बालबालिकाको शिक्षाको जग राम्रो भए भविष्य उज्ज्वल हुने बताउनुहँुदै विद्यालय तहदेखि नै मिहिनेत गर्ने बानी विकास गर्न विद्यार्थीलाई प्रेरित गर्नुपर्छ भन्नुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विद्यार्थीहरुलाई पुरस्कार र सम्मान दिनु भनेको उनीहरुलाई उत्प्रेरणा दिनु हो भन्दै विद्यार्थीहरुको मनोबल उच्च राख्ने विषयमा विद्यालय सजग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चण्डेश्वरी आधारभूत विद्यालयका प्रअ रीता लाखेमरुले विद्यालयको शैक्षिक अवस्था र प्रगति विवरण प्रस्तुत गर्दै कामदार वर्गका छोराछोरीलाई सामान्य सहयोग शुल्कमा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिई सक्षम, योग्य, असल र इमानदार नागरिक तयार गर्दै जाने विद्यालयको मुख्य उद्देश्य भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद त्वानाबासुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी हिमालयश्वरलाल मुल, नेक्राशिसंघ नगर समितिका अध्यक्ष गणेशराम थुसालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वार्षिकोत्सवकै अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले परीक्षामा उत्कृष्ट र अतिरिक्त क्रियाकलापमा विजयीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!