स्वास्थ्य बिमालाई व्यवस्थित बनाउँदैछौँः स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं, पुस १९,२०८१ः

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बिमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयमा स्वास्थ्य बिमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिए पनि आवश्यकताअनुसार नभएको जानकारी दिनुभयो । उहाँले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताउनुभयो ।

‘‘खासगरी नेपालको स्वास्थ्य बिमाबारे धेरैखाले विषयहरु देखिरहेका छौँ । खासगरी अहिलेको वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत, सुविधा उपलब्ध गराएको छ तर यो आंशिकमात्रै छ । आवश्यकताअनुसारको छैन । व्यवस्थित छैन । यो लक्षित समूहले पूर्ण रुपमा लाभ लिनेगरी यो अघि बढ्न सकेको छैन ।,’’ स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, ‘‘यिनै कुरालाई महसुस गरेर हामीले आम नागरिकलाई स्वास्थ्य क्षेत्रमा सुविधा उपलब्ध हुनेगरी नागरिकको खल्तीबाट जुन खर्च भएको छ, त्यो खर्च नहुने स्थिति निर्माण गर्न स्वास्थ्य क्षेत्रमा सबैको पहुँच, युनिभर्सल कभरेजको नीतिअनुसार यसलाई व्यवस्थित गर्नको लागि हामीले काम अघि बढाउन खोजिरहेका थियौँ ।’’

मन्त्री पौडेलले लक्षित समूहले पूर्णरुपमा लाभ लिनेगरी स्वास्थ्य बिमा अघि बढाउन जरुरी रहेको जिकिर गर्नुभयो । स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताउनुभयो । नेपालको बिमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेण्ट प्राप्त भएको उल्लेख गर्दै सबै क्षेत्र समेटिने विषय प्रतिवेदनमा रहेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको बिमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेण्ट प्राप्त गरेका छौँ । सबै क्षेत्र समेटिएको छ, यसभित्र भन्ने विश्वास छ । नागरिकलाई सुविधान हुनेगरी कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा हामी लाग्नेछौँ ।’’

मन्त्री पौडेलले स्वास्थ्य बिमा पाँच लाख पुर्‍याउँदा कसरी स्राेत सुनिश्चितता गर्ने भन्ने कुरामा पनि प्रतिवेदनमा समेटिएको विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!